बरंजा भूतपूर्व विद्यार्थी क्लबको सातौं अधिवेशन तथा शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम यही कार्तिक ६ गते हुने भएको छ ।
बरंजा भूतपूर्व विद्यार्थी क्लबले म्याग्दीको मंगला गाउपालिका -०३, बरंजा, आर्भाङ्ग स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको प्राङ्गणमा सातौं अधिवेशन, तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान , भेटघाट र महेन्द्र रत्न माध्यमिक विद्यालयबाट माध्यमिक तह (एसईई) र उच्च माध्यमिक तह (+२) उतीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम यही कार्तिक ६ गते गर्न लागिएको सचिब दिपक आचार्यले मयूरपाटीलाई जानकारी दिएका छन ।
महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्ययन गरी स्वदेश तथा बिदेशमा बिभिन्न पेशा तथा व्यबसायमा आबध्द भएका सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुको साझा संस्था बरंजा भूतपूर्व विद्यार्थी क्लबको स्थापना बि.सं २०६३ सालमा भएको थियो । यस क्लबले हरेक वर्ष बडा दशै तथा तिहारको अवसर पारेर भूतपूर्व विद्यार्थीको जमघट तथा माध्यमिक तह (एसईई) र उच्च माध्यमिक तह (+२) उतीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गर्दै आएको छ । कार्यब्यस्तताले गर्दा अन्य समयमा भेटघाट तथा कार्यक्रम आयोजना गर्न कठिन पर्ने भएकाले गर्दा दशै तथा तिहार पर्वको लामो छुट्टीको अवसर पारेर कार्यक्रम आयोजना गरिएको क्लबका सचिब दिपक आचार्यले बताए ।
बरंजा भूतपूर्व विद्यार्थी क्लबको समन्वयमा बरंजा भकिम्ली माईती कुटुम्ब समाजको सहयोगमा महेन्द्र रत्न माध्यमिक विद्यालयमा सीसी क्यामेरा जडान र बैकल्पिक उर्जा केन्द्रको सहयोगमा पाँच किलो वाटको सोलार जडान गरेको छ । त्यसैगरी क्लबले जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना पनि गरेको थियो ।महेन्द्र रत्न माध्यमिक विद्यालयको पुस्तकालयमा पुस्तक उपलब्ध गराउनुको साथै विद्यालयमा अन्तर सदनात्मक अतिरिक्त कृयाकलापको समेत आयोजना गर्दै आएको छ । विभिन्न विधामा सफल भूतपूर्व विद्यार्थीलाई हौसला स्वरुप सम्मान पनि गर्दै आएको क्लबका सचिब दिपक आचार्यले बताए ।
बरंजा भूतपूर्व विद्यार्थी क्लबले उक्त दिनको कार्यक्रम सभ्य र भव्यताको साथ सम्पन्न गर्नका लागि भूतपूर्व विद्यार्थी, शिक्षक तथा सरोकारवाला संघ, संस्थालाई गरिमामय उपस्थितिको लागि अनुरोध गरेको छ । साथै महेन्द्र रत्न माध्यमिक विधालयबाट माध्यमिक तह (एसईई) र उच्च माध्यमिक तह (+२) उतीर्ण विद्यार्थीहरुलाई सम्मान पत्र ग्रहण गर्नको निम्ति अनिवार्य उपस्थितिको लागि अनुरोध गरेको छ । त्यसैगरी कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुको लागि उच्च माध्यमिक शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत रहेकाले उक्त दिन अनिवार्य उपस्थित हुन पनि क्लबका सचिब दिपक आचार्यले आग्रह गरेका छन ।
कार्यक्रम निम्न मिति, समय र स्थानमा हुनेछ ।
मितिः २०७९।०७।०६ गते
समयः ११ः०० बजे (दिउँसो)
स्थानः श्री महेन्द्र रत्न माध्यमिक विद्यालय, मंगला–०३, बरंजा, आर्भाङ्ग (विद्यालय प्राङगण)