Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकार,अगामी फागुनमा सञ्चालन गर्ने तयारी

तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकार,अगामी फागुनमा सञ्चालन गर्ने तयारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ५, २०७७ सोमवार • १२:२१:२२ बजे
  • 1.1K
    SHARES
  • तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकार,अगामी फागुनमा  सञ्चालन गर्ने तयारी
    दमौली - कोभिड-१९ को सङ्कटका बीच तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको कामले गति लिएको छ । केही समय काम अवरुद्ध भए पनि यसपछि निरन्तर काम जारी रहेको छ ।

    बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले सङ्कटकै बीचमा पनि कामलाई तीव्र पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार ८०-८५ जना मजदूर प्रयोग गरीे पूर्वाधार निर्माणलाई तीव्र गति दिइएको छ ।

    केबुलकारको तल्लो स्टेसनको भवन निर्माण ८० प्रतिशत सकिएको छ भने माथिल्लो स्टेसनको फाउन्डेसनको काम शुरु भएको छ । चारतारे होटल सहितको ‘क्विन टावर’ को पनि भुइँतल्लाको ढलान शुरु गरिएको छ । “तल्लो स्टेसनमा तीन तल्लाको भवन लगभग सकिने अवस्थामा पुगेको छ, माथिल्लो स्टेसन र क्विन टावरको काम पनि शुरु भएको छ”, अध्यक्ष शर्माले भन्नुभयो, “कहिले सङ्घीय सरकारको बन्दाबन्दी, कहिले स्थानीय सरकारको बन्दाबन्दी काम बीचमा पनि काम भइरहेको छ ।”

    उहाँका अनुसार केबुलकारको टावरका सबै काम सकिएको र केबुलकारको बाक्सा जडान गर्न बाँकी छ । भारतबाट सामग्री ल्याउनुपर्ने भएकाले कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । “भारतबाट अहिले सामग्री ल्याउन गाह्रो परिरहेको छ, कोभिड–१९ को सङ्कट नभएको भए काम धेरै अगाडि बढिसक्थ्यो”, उहाँले भन्नुभयो ।

    अन्य पूर्वाधार निर्माण जारी रहँदै अगामी फागुनमा केबुलकार सञ्चालन गर्ने तयारी गरिएको थियो । सामग्री ल्याउन नसकिएकाले केबुलकार सञ्चालनको तयारी पनि पछाडि धकेलिने भएको छ । कोभिडको सङ्कटका कारण पूर्वाधार निर्माणको खर्च नबढे पनि अन्य खर्च दश प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।

    बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन निर्माण भइरहेको छ । माथिल्लो स्टेसनमा रु ८० करोडको लागतमा चारतारे होटल पनि निर्माण हुनेछ । चारतारे होटल निर्माणको जिम्मा काठमाडौँस्थित चन्द्र निर्माण सेवाले पाएको छ । उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैंकसँग ऋण सम्झौता गरिएको छ । उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ ।

    बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । केबुलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङगल्यान्ड रहेको छ । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।

    प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

    कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology