भारतीय व्यक्तिहरूले बेलडाँडी गाँउपालिका ४ बैवाहाका चार जनालाई नियन्त्रणमा लिई सोमवार साँझ भारत तर्फ लगेका छन्। गाँउपालिकाको वडा नं ५ नजिकको खल्लाबाट माछा मार्दै गरेका बेला चारै जनालाई भारतीयहरूले नियन्त्रणमा लिएका हुन्।
सीमा स्तम्भ नम्बर ७८५२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका वर्ष २६ का बिरेन्द्र खत्री, वर्ष २५ का भोजराज रोकाया, वर्ष ३२ का मान बहादुर सुनार र वर्ष ४० का पदम सुनारलाई भारतीय दुई जना व्यक्तिले नियन्त्रणमा लिई भारततर्फ लगेका छन्।
नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग भारतीय पक्षले जनही २० हजार रुपैयाँ फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए।
यसैगरी, पुर्नवास नगरपालिका ८ मोतियाफाँटाबाट भारतको जंगलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका वर्ष ३५ का डम्बरे सुनारलाई भारतीय वन रक्षकले हिजो साँझ नै सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ। डम्बरेका बुवा थले सुनारले दशगजा नजिकैको सीमा स्तम्भ नम्बर ७६६७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जानकारी गराएका छन्।