Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा २० दिन पछि पुनः सुचारु

ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा २० दिन पछि पुनः सुचारु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ६, २०७७ मंगलवार • १८:२०:१३ बजे
  • 1.3K
    SHARES
  • ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा २० दिन पछि  पुनः सुचारु
    बाग्लुङ - ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पुर्याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो । केन्द्रीय विद्युत नपुगेको ढोरपाटन क्षेत्रमा लघुजलविद्युतबाट मोवाइल टावर सञ्चालन गरिँदै आइएको थियो ।

    बाढीले ढोरपाटनको भूजीखोला क्षेत्रको ११ जलविद्युतमा क्षति पुर्याउँदा सञ्चार सुविधाबाट वञ्चित भएका ढोरपाटनबासीलाई नेपाल टेलिकमले वैकल्पिक उर्जा सोलार जडान गरी सोमबारदेखि सेवा सुचारु गरेको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । बाढीका कारण ढोरपाटन नगरपालिका–८ र ९ मा भदौं १७ गतेदेखि सञ्चार सुविधा अवरुद्ध भएको थियो । बाढीका कारण वेपत्ता भएका ३७ मध्ये २२ जनाको शव फेला परेको छ भने १५ जना अझै वेपत्ता रहेका छन् ।

    विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा सञ्चार मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पुर्याएको हुँदा तत्काल त्यहाँ सोलार जडान गरी मोवाइल सेवा सञ्चालनमा आउन सकिएको थिएन । ढोरपाटन नगरपालिकाको समन्वयमा सालझण्डी-ढोरपाटन सडक आयोजनाले केही दिन पहिले उक्त स्थानसम्म सडक मर्मत गरे पछि सोलारका सामाग्री पुर्याएर जडान गरिएको हो ।

    “तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको हो,” उनले भने “सोलार प्रणलीबाट जडान गरिएको टावर घाम नलाग्दा समस्या ल्याउन सक्छ, विद्युत सुचारुचएपछि पुन टावरलाई विद्युतवाट सञ्चालनमा ल्याउने छौं ।”

    ढोरपाटन ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको छ । सेवा सुचारु गर्न टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए ।

    सालझण्डी ढोरपाटन सडकबाट टावर सम्म सामाग्री पुराउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको हो ।

    बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिङ्क बन्द रहेको थियो । लिङ्क बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा समेत २० दिनदेखि मोवाइल सेवा अवरुद्ध रहेको टेलिकम पोखराका इञ्जिनियर शिवप्रसाद पौडेलले जानकारी दिए ।

    टावरमा सोलार जडान गर्न प्राविधिक कटकबहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । यही सोमबारदेखि मोवाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयहरू खुशी भएको ढोरपाटन–९ का वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology