आश्विन ८, २०७७ बिहिवार
•
११:२१:३८ बजे
स्याङ्जा - स्याङ्जाको वालिङमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन । एक जनाको भने जिवितै उद्दार गरी थप उपचारको लागी पोखरा ल्याइेको छ ।
आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चार जना अझै बेपत्ता छन् ।
एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गहैँ प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।