Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको सुन्दर झरना र तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार हुँदै

म्याग्दीको सुन्दर झरना र तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार हुँदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ९, २०७७ शुक्रवार • १०:२७:५० बजे
  • 1.9K
    SHARES
  • म्याग्दीको सुन्दर झरना र तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार हुँदै
    गलेश्वर- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाढीपहिरोले अस्तब्यस्त भएका सुन्दर झरना र तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ ।

    पर्यटक अनुकूलका पूर्वाधारको अभावमा ओझेल परेका रुप्से, नारच्याङ र महभीर झरनाका साथै भुरुङ तातोपानी, पाउद्धार तातोपानी, दोवाको सेकार र रातोपानी कुण्डको डिपिआरको काम शुरु गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनले बताउनुभयो । “मुख्य झरना र कुण्डमा पूर्वाधारको आवश्यकता छ, डिपिआर तयार भएपछि स्रोतको खोजीमा लाग्छौ”, उहाँले भन्नुभयो । डिपिआर तयार गर्न लागिएका तीन वटा झरना र तीन वटा तातोपानी कुण्ड बेनी–जोमसोम सडकखण्ड आसपासमा पर्छन् ।

    पर्यटकको चाप बढ्दै गइरहेको अवस्थामा आवश्यक पूर्वाधारको अभावमा नारच्याङ र महभीर झरना समेत ओझेलमा परेको थियो भने बाढीपहिरोले अस्तब्यस्त भएको रुप्से झरनाको करिब ९० प्रतिशत संरचनामा क्षति पुगेको अध्यक्ष पुनले बताउनुभयो । विश्वकै उत्कृष्ट झरना र कुण्ड समेत बाढीपहिरो र नदीको कटानले छियाछिया भएको अवस्थामा पर्यटन क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई समेत सहयोग गर्न आह्वान गरिएको अध्यक्ष पुनको भनाइ छ । उहाँका अनुसार पाउद्धारको कुण्डमा रु २० लाख, रातोपानी कुण्डको संरक्षणमा यस अगाडि नै रु २५ लाख विनियोजन भइसकेको छ भने नारच्याङ झरनाको संरक्षण गर्ने प्रस्ताव पर्यटन मन्त्रालयमा पेश गरिएको छ ।

    पुरानो स्वरुपलाई यथावत राखेर रुप्से र नारच्याङ झरनाका साथै कालिगण्डकीको कटानबाट तातोपानी र रातोपानीलाई जोगाउन सकेमा मुस्ताङ जाने पर्यटकलाई रोक्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । यसैबीच गाउँपालिकाले नदीजन्य वस्तुको उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदनको तयारीमा छ । डिपिआर र ईआइएका लागि रु १० लाख वजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

    रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology