Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको स्वास्थ्य चौकीमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने छुट्टै गोप्य कक्ष नहुँदा सेवा प्रभावित

म्याग्दीको स्वास्थ्य चौकीमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने छुट्टै गोप्य कक्ष नहुँदा सेवा प्रभावित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १०:२२:२४ बजे
  • 1.2K
    SHARES
  • म्याग्दीको स्वास्थ्य चौकीमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने छुट्टै गोप्य कक्ष नहुँदा सेवा प्रभावित
    म्याग्दी-  म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेकी रिया छन्त्याललाई बिरामी भएर स्वास्थ्य संस्थामा गए पनि स्वास्थ्यकर्मीलाई आफ्नो समस्या खुलेर बताउन असहज लाग्छ ।

    बिरामीको स्वास्थ्य परीक्षण गर्ने छुट्टै गोप्य कक्ष नहुँदा सो वडाका अन्य नागरिक पनि छन्त्यालको जस्तै समस्या झेल्न बाध्य छन् । “एउटै कोठाबाट सञ्चालित स्वास्थ्य चौकीमा कोही नभएको मौका छोपेर जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षण गराउने ठाउँ पनि सहज छैन ।”

    भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने घ्यासीखर्कस्थित स्वास्थ्य चौकीमा पूर्वाधार अभाव हुँदा सेवा प्रभावित भएको छ । डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सुविधासम्पन्न भवन तीन वर्षमा पनि सकिएको छैन ।

    कुइनेमङ्गले स्वास्थ्य चौकीले करिब ३० वर्ष पुरानो एककोठे भवनबाट सेवा दिइरहेको छ । रघुगङ्गा नदीको कटानको जोखिममा रहेको स्वास्थ्य चौकी भवनमा एउटा मात्र कोठा छ । बिरामी जाँच्ने, गर्भ परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट सञ्चालन गर्नुपरेको स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र बुढामगरले बताउनुभयो ।


    जीर्ण भवनको साँघुरो कोठाबाट सेवा लिने नागरिक र दिने स्वास्थ्यकर्मीलाई असहज भएको छ । दुर्गम क्षेत्रमा पर्ने सो स्वास्थ्य चौकीबाट घ्याँसीखर्क, कुइने, चौरखानी, खरिबोट, दाड, दुवाडी, पात्लेखर्कका बासिन्दाले सेवा लिने गर्छन् । दैनिक कम्तीमा १० जनाले सेवा लिने गरेका छन् ।

    पूर्वाधारको अभावका कारण सुरक्षित प्रसूति सेवा शुरु गर्न सकिएको छैन । गर्भवतीहरु सुत्केरी हुन चिमखोला र बेनी पुग्नुपर्ने बाध्यता रहेको पात्लेखर्कका बासिन्दा रहेकी वडा सदस्य प्रिती पुनले बताउनुभयो । “खर्चको जोहो गर्न सक्नेहरु सुत्केरी हुन बेनी र पोखरा जान्छन”, उहाँले भन्नुभयो, “आर्थिक जोहो गर्न नसक्ने विपन्न गाउँमै असुरक्षित प्रसूति हुन बाध्य छन् ।”

    असुरक्षित प्रसूति हुँदा बच्चा र आमाको ज्यान जोखिममा परेको छ । सुविधासम्पन्न भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको हो । विसं २०७४ भदौमा सङ्घीय सरकारअन्तर्गतको शहरी विकास विभागको भवन डिभिजन कार्यालले भवन निर्माण शुरु गरेको थियो ।

    दुईतले भवन बनाउन मसुद–बिएन–त्रिशक्ति जेभीसँग रु एक करोड ६० लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । अठार महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माणले अझै पूर्णता नपाएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

    “ठेकेदारले फर्निचर, घेराबार र प्रवेशद्वारलगायतका काम सकेर हस्तान्तरण गरेकाले नयाँ भवन भवन प्रयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माण सकेर छिटो हस्तान्तरण गरी सेवा प्रवाहलाई सहज बनाउन र रघुगङ्गा नदीको कटान नियन्त्रण गर्न ताकेता गरिरहेका छौँ ।” निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले २०७५ भदौमा रघुगङ्गा नदीमा आएको बाढी पसेको र भौगोलिक विकटतालगायतका कारणले ढिलाइ भएको भवन दशैँअघि नै हस्तान्तरण गरिने प्रतिक्रिया दिनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology