प्रवासी म्याग्देलीको सहयोगमा ४६ लाख बढी जिल्ला भलिबल संघ अक्षयकोष स्थापना भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको सहयोगमा जिल्ला भलिबल संघले अक्षयकोष स्थापना गरेको हो । बुधबार सदरमुकाम बेनीमा आयोजित एक समारोहमा मोना युकेका अध्यक्ष कुमार फगामी र प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) मार्फत संघका अध्यक्ष तेजेन्द्र बानियालाई अक्षयकोषको रकम ४३ लाख ६१ हजार ३९९ रुपैयाँ हस्तान्तरण गरिएको छ ।
त्यसैगरी मोना कुवेतका प्रमुख सल्लाहकार चद्र गोतामे मार्फत सस्थागत ५० हजार हस्तान्तरण गरिएको छ । भलिबल संघ कार्यसमितिको १ लाख २० हजार, मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काबाट १ लाख, प्रकाश कार्की यूएईबाट २० हजारसहयोग प्राप्त भएको छ ।
म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले १ करोडको अक्षयकोषको लक्ष्य रहेकोमा हालसम्म ४६ लाख ५१ हजार ३९९ जम्मा भएको बताए । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा राखिएको कोषको ब्याजबाट म्याग्दी भलिबल कप संचालन, भलिबल प्रशिक्षण, खेलाडी सहभागिता र कार्यालय सञ्चालनमा परिचालन गरिने अध्यक्ष बानियाले बताए । भलिबल खेल क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान, आर्थिक अवस्था कमजोर भएका म्याग्दीका भलिबल खेलाडी, प्रशिक्षक, रेफ्रीहरुलाई विपद्को अवस्थामा कोषको रकम खर्च गरिने भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले भलिबल खेललाई चलायमान बनाउन कोषले सहज हुने बताएका थिए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुन,म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाही, भलिबल संघका राष्ट्रिय उपाध्यक्ष याम गुरुङ,पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले अक्षष कोष म्याग्दी भलिबलका लागि स्वर्णीम अवसर सृजना गरेको बताएका थिए ।
मोना यूकेका अध्यक्ष कुमार फगामीले जिल्लास्तरमा भलिबलका राम्रा क्षमतावान खेलाडीलाई छनोट गरेर राष्ट्रिय टिमका लागि तयार गर्न सघाउने गरी कोषमा सहयोग गरेको बताए । उनले म्याग्दी जिल्लामा भलिबलको प्रतिभालाई छनोट गरी,ट्रेनिङ गराउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘एक्सपोज’ गराउने, भलिबल क्षेत्रको विकासका लागि भविष्यमा पनि सहकार्य गर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष बानियाँ, स्वागत सचिव कुमार किसान र सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गरेका थिए ।