कुवेत - निरेम प्रोडक्सन कुवेतले धरानका विभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरूका साथै एकजना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।
हालै सम्पन्न निरेम म्युजिकल फेस्टिवल २०२५ बाट संकलित मुनाफाबाट धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को “सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियान”, धरान-१ स्थित पुनःस्थापना गृह र धरान-१५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयलाई जनही रु २५,००० का दरले सहयोग हस्तान्तरण गरेको हो । त्यसैगरी, धरान-११ निवासी मृगौला पीडित चन्द्र बहादुर विश्वकर्मालाई पनि रु २५,००० को आर्थिक सहयोग गरिएको निरेमले जानकारी दिएको छ ।
उक्त सहयोग रकम पत्रकार रोहित राईमार्फत सम्बन्धित व्यक्तिहरू र संस्थाहरूसम्म पुर्याइएका थिए । सुम्निमा पारुहाङ प्रतिष्ठानका कोषाध्यक्ष दत्त लिम्बु, पुनःस्थापना गृहकी सञ्चालिका लक्ष्मी राई र ज्ञान चक्षु विद्यालयका प्रमुख प्रमोद भण्डारीलाई उक्त रकम प्रदान गरिएको छ । यसअघि पनि निरेमद्वारा सञ्चालन गरेको “न्यानो अभियान” जस्तै यो पनि संस्थाको निरन्तर सामाजिक प्रयासको एक हिस्सा हो ।