कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र सुजन बिँडारीलाई सम्मान सहित बिदाई गरेको छ ।
साल्मियास्थित एसियन चुलो नेपाली रेष्टुरेण्टमा सम्पन्न बिदाई कार्यक्रममा अध्यक्ष राज मल्लले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सचिवद्वयको योगदानको प्रशंसा गरे । कुवेतमा रहँदा श्रमिक हितमा गरिएको क्रियाशील कार्यको उच्च प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरे । सो अवसरमा निरेम प्रोडक्सन प्रालिद्वारा पनि सचिवद्वयलाई विशेष सम्मानपत्र सहित बिदाई गरिएको थियो ।

कुवेतमा प्रथम सचिव तथा सूचना अधिकारी प्रेम राज गौतम करिब अढाई वर्ष र प्रथम सचिव सुजन बिँडारी करिब डेढ वर्षदेखि कार्यरत रहँदै नेपाली श्रमिक र समुदायको सेवामा सक्रिय रहँदै आएका थिए। हालै दुवै सचिव द्वितीय श्रेणी उपसचिवमा बढुवा भई नेपाल फर्किन लागेका हुन्।
कार्यक्रममा उपस्थित सञ्चारकर्मी, समाजसेवी तथा नेपाली समुदायका प्रतिनिधिहरूले पनि सचिवद्वयको योगदानको प्रशंसा गर्दै बिदाई गरेका थिए ।
