नेपाल पत्रकार महासंघ वैदेशिक शाखाहरुले केन्द्रलाई चारबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ अन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा सहित कार्यसमितिलाई संयुक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
यूरोप, युएई, जापान, बेल्जियम, कतार, कुवेत, बेलायत, दक्षिण कोरिया र भारत शाखाका अध्यक्षहरूको संयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्रमा निर्वाचनमा मताधिकार सुनिश्चितता, केन्द्रीय कार्यसमितिमा वैदेशिक प्रतिनिधित्व, महासंघका गतिविधिमा समान सहभागिता, र सदस्यता पारदर्शितामा प्रवासको अवस्थाअनुसार लचिलोपन अपनाउन जोड दिइएको छ।
बैदेशिक शाखाहरूले प्रवासी नेपाली पत्रकारिता सशक्त बनाउँदै राष्ट्रिय पत्रकारिता समृद्धिमा योगदान दिँदै आएको उल्लेख गर्दै, संघको लोकतान्त्रिक चरित्रलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।