कुवेत- नेपाली दूतावास कुवेतको आयोजनामा श्रम सचेतना सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कुवेतस्थित कोष्टाडेल सोल होटलको सभाहलमा २९ जनवरी २०२६ मा कुवेतमा कार्यरत नेपालीहरूका लागि श्रम सम्बन्धि सचेतना एवं कानूनी व्यवस्थाहरूका बारेमा जानकारी दिदै उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले कुवेतमा रहेका नेपाली नागरिकहरुलाई सही सूचना प्रवाह गरी जानकार र सचेत बनाउन अत्यावश्यक रहको बताए । त्यसैगरी नेपाली श्रमिकहरूको हित र सुरक्षालाई प्राथमिकतामा राख्दै सरल, शीघ्र एवं प्रभावकारी ढङ्गबाट दूतावासले सेवा प्रवाह गर्दै आएको बताए । नेपाली श्रमिकका प्रतिनिधि एवं श्रमिकहरूको गुनासो तथा सुझावहरू दूतावासले यथाशक्यरूपमा सम्बोधन एवं कार्यान्वयन गर्ने बताए ।

उक्त कार्यक्रममा राजदूतावासको सेवा प्रवाह, चुनौतीहरू, समाधानका उपायहरू तथा कुवेतमा उपलब्ध रोजगारीका अवसरलगायत विविध विषयमा विस्तृत छलफल गरिएको थियो । कुवेतमा कार्यरत नेपाली श्रमिकहरूको पेशागत हकहितको संरक्षण गर्दै वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित, भरपर्दो र गुणस्तरीय बनाउन राजदूतावासले चालेका कदमहरू तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीति तथा कार्यदिशाको विषयमा समेत छलफल भएको थियो ।

उपनियोग प्रमुख तथा काउन्सेलर सुजनी रानाले कुवेतमा राजदूतावासले प्रदान गर्ने राहदानी सेवा, प्रमाणीकरण सेवा, यात्रा अनुमति पत्र, श्रमिकहरुले गर्न हुने र नहुने कुराहरु, विप्रेषण साक्षरता, सामाजिक सञ्जालको संयमित प्रयोग लगायतको बारेमा जानकारी दिएकी थिइन । त्यस्तै श्रम सहचारी जनार्दन गौतमले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, टेलिमेडिसिन सेवा, वैदेशिक रोजगार बोर्डबाट श्रमिकहरुलाई प्रदान गरिने सुविधाहरू लगायत श्रमका विविध विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका प्रतिनिधिहरु, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय पत्रकारहरू एवं राजनीतिक दलका भातृसंगठनका प्रतिनिधिहरु लगायत १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।