कुवेत – गैर आवासीय नेपाली संघ (NRNA) का केन्द्रीय सचिव सुजन केसीले कुवेतमा रहेका पत्रकारहरू र विभिन्न नेपाली सघ-संस्थाका प्रमुख सँग विशेष भेटघाट गरेका छन्। भेटघाटको क्रममा उनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको हकहितको संरक्षण, समस्या समाधान र अवसर विस्तार गर्ने लक्ष्य राखेको बताएका छन्।
साल्मियामा रहेको डाम्पा लजमा गत बुधवार सम्पन्न भेटघाटमा केसीले मध्यपूर्वमा हाल विकसित कठिन परिस्थितिलाई ध्यानमा राख्दै राहत र उद्धारमा विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । “हामीले यहाँका नेपाली श्रमिकहरूको समस्यामा गम्भीरता अपनाउनुपर्छ । मध्यपूर्वमा विकसित परिस्थितिको बारेमा छलफल गर्दै हामीले यसका लागि एक करोड नेपाली रुपैयाँ विशेष राहत कोष स्थापना गरेका छौं,” उनले भने ।
हालै सम्पन्न गैर आवासीय नेपाली संघको १२ औं एकता महाधिवेशनमा केन्द्रीय सचिवमा निर्वाचित भएका केसीले आगामी दिनमा श्रमिकहरूको हकहितका लागि बुलन्द आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । “मध्यपूर्वमा रहेका श्रमिकहरूलाई समस्या समाधान र अधिकारको संरक्षणका लागि सधैं तत्पर रहनेछु,” उनले भने।
केसीले एनआरएनए एनसीसी कुवेत, पत्रकार र अन्य सहयोगीलाई धन्यवाद व्यक्त गर्दै भने, “ तपाईहरुको सहयोगले गर्दा कुवेतबाट केन्द्रीय सचिव जस्तो गरिमामय पदमा निर्वाचित भएको छु । अवसर मात्र पाएर हुदैन यसलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि ध्यान दिनु पर्छ । त्यसैले म मेरो पदलाई राम्रो संग सदुपयोग गर्नेछु ।” त्यस्तै भेटघाट कार्यक्रममा उपस्थित एनआरएनए एनसीसी कुवेत, नेपाल पत्रकार महासंघ शाखा कुवेत, नेपाली राजनीतिक दलका वैदेशिक भातृ सगठनका प्रमुख लगायत विभिन्न नेपाली संघ सस्थाका प्रमुखले बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए ।
गैर आवासीय नेपाली संघको नयाँ कार्यसमितिले युद्व प्रभावित मध्यपूर्वका नेपालीहरूको सहयोगार्थ एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । उक्त कोषले मध्यपूर्वमा रहेका नेपालीका लागि विशेष प्राथमिकता दिने जनाइएको छ । “यो कोष युध्दको प्रभावमा परेका नेपाली श्रमिकहरूको सहयोगका लागि विशेष रूपमा प्रयोग हुनेछ,” केसीले थपे।
दुई दशकभन्दा लामो समयदेखि कुवेतमा रहेका समाजसेवी एवं सफल युवा व्यवसायी खत्रीले एनसीसी कुवेतलाई सबैको साझा संस्था बनाउन निरन्तर योगदान दिदै आएका छन । “संस्थागत एकता र सहकार्यले मात्र हामीले हाम्रो नेपाली समुदायको समस्यामा समाधान निकाल्न सक्छौं,” खत्रीले भने।
उक्त भेटघाटले कुवेतमा रहेका नेपाली सँगसँगै विभिन्न संगठनहरूको एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । त्यस्तै केसीको एनआरएनए केन्द्रमा बलियो सहभागिताले आगामी दिनमा मध्यपूर्वमा नेपाली श्रमिकहरूको हकहितको लागि थप आवाज बुलन्द हुने अपेक्षा गरिएको छ ।