भक्तपुर - भक्तपुरमा एक पुरुषले घरायसी विवादका क्रममा आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
भक्तपुर नगरपालिका वडा नम्बर १०, छालिङमा भाडाको कोठामा बस्दै आएका शङ्करापुर नगरपालिका–६ नाङ्लेभारे स्थायी घर भएका विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिना विश्वकर्माको हत्या गरेका हुन् ।
प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुका अनुसार गएराति घरायसी विवाद हुँदा विदुरले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सलिनाको मृत्यु भएको छ।
आक्रमणका क्रममा आफ्नी आमाका साथमै रहेका उनका आठ वर्षका छोरा त्रिशल विश्वकर्मा समेत घाइते भएका छन्। घाइते बालकको उपचार भइरहेको छ। घटना लगत्तै खुकुरी प्रहार गर्ने आरोपी विदुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनास्थलबाटै उनलाई पक्राउ गरी हिरासतमा राखेको हो। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।