Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको बलेवा विमानस्थलको धावनमार्ग निर्माण अन्तिम चरणमा

बागलुङको बलेवा विमानस्थलको धावनमार्ग निर्माण अन्तिम चरणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २८, २०७७ बुधवार • १७:३६:०९ बजे
  • 1.9K
    SHARES
  • बागलुङको बलेवा विमानस्थलको धावनमार्ग निर्माण अन्तिम चरणमा
    गलकोट । कोरोना भाइरस र लामो वर्षात्का कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम पुनः अगाडि बढेको छ । गत आर्थिक मसान्त २०७६र७७ भित्रै धावनमार्गको कालोपत्र गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिए पनि शुरुमा कोराना भाइरस र लगातारको वर्षाका कारण विमानस्थलको काम प्रभावित बने पनि वर्षा रोकिएपछि कालोपत्रका लागि आवश्यक कामले तीव्रता पाएको छ ।

    कालोपत्रका लागि बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माणकार्यले पुनः गति लिएको हो । विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत विसं २०७६ फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण प्रभावित बन्दै आएका कारण धावनमार्ग कालोपत्रको काम केही समय पछाडि धकेलिएको छ ।

    अहिले धावनमार्गको कालोपत्र गर्ने भागको कटिङ सकिएर ग्राभेलको काम शुरु गर्न थालिएको कालोपत्रको जिम्मा लिएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका आधिकारिक प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो । “हामीले शुरुमा कोरोना भाइरस र लगातारको वर्षाका कारण काम गर्न सकेका थिएनौँं”, थापाले भन्नुभयोे, “वर्षा रोकिएपछि दुई हप्ता अगाडिदेखि निर्माणमा तीव्रता दिँदा कटिङको काम सकिएको छ, ग्राभेल सङ्कलन गरिरहेको र तिहारलगत्तै ग्राभेल गरिने छ ।”

    अहिले कालोपत्रका लागि चाहिने ग्राभेल कालीगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ । सबैभन्दा बढी समय लाग्ने कटिङलाई लाग्ने भए पनि पूर्णरूपमा कटिङको काम सकिएर ग्राभेल बिच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ । आगामी वैशाखसम्म विमानस्थलको निर्माणकार्य सक्ने ठेकेदार कम्पनीको दाबी छ । धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको थियो ।


    आगामी फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा २२ मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेका थियो । कोरोना र वर्षाका कारण निर्माणमा ढिलाइ भएकाले सम्झौता अवधिभित्रै धावनमार्ग कालोपत्रका लागि समस्या हुने देखिएको छ ।

    विमानस्थलको धावनमार्ग र विमान पार्किङ कालोपत्रसँगै विमानस्थल क्षेत्रको तारबार र नाली निर्माण गरिने छ । निर्माण कम्पनीका कारण कालोपत्रमा ढिलाइ नभए पनि कोरोना र वर्षाका कारण समस्या भए पनि पछिल्लो समय निर्माणले गति दिएको नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि दीपक बगालेले जानकारी दिनुभयो । बगालेका अनुसार धावनमार्ग माटोको सतहबाट १४ इन्च ग्राभेल र दुई इन्च कालोपत्र गरिनेछ । २६ वर्षदेखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology