Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ्ग तमानखोलामा माछा मारेर गुजारा चलाउँदै स्थानीय

बागलुङ्ग तमानखोलामा माछा मारेर गुजारा चलाउँदै स्थानीय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २३, २०७७ आइतवार • १०:२०:११ बजे
  • 1.6K
    SHARES
  • बागलुङ्ग तमानखोलामा माछा मारेर गुजारा चलाउँदै स्थानीय
    बागलुङ्ग -तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे ।


    भोलिपल्ट पनि माछा मार्ने योजना बुनेर उनीहरु आ–आफ्नो घर लागे । माछा मार्नेले यसरी नै हिउँदका फुर्सदिला दिनहरु खोलामा कटाउँछन् । माछाबाटै जीविका धान्छन् । पचपन्न वर्षीय विकले भदौदेखि नै माछा मार्न थालेको बताए । “वर्षाको खेतीपाती सकेपछि हाम्रो कामै यही हो”, विकले भने, “कहिले राम्रो माछा पर्छ, कहिले दुःख पनि उठ्दैन ।” उनले माछाबाट आएको पैसा घर खर्च र छोराछोरीको पढाइमा लगाउँछन् । कुनै महिना त माछाबाटै १५÷२० हजारसम्म कमाइ हुने गरेको विकले सुनाए ।


    तमानखोलामा माछा मारेर गुजारा चलाउने अरु पनि छन् । बोङ्गादोभानका २९ वर्षीय जीवन पुनले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरिएको बताए । उनका अनुसार दुवाली छेकेर माछा मार्न धेरै जना चाहिन्छ । त्यसरी मारिएको माछाको सबैले बराबरी भाग पाउँछन् ।

    “तमानखोलाको असला माछा स्वादिष्ट मानिन्छ, यहाँका प्रायः सबै होटलमा माछाको परिकार हुन्छ”, पुनले भने । धेरैजसो होटल, रेष्टुराँ व्यवसायीले नै माछा खरिद गर्छन् । माछाको सुकुटी बनाएर महङ्गोमा बेच्ने पनि हुन्छन् । बोङ्गादोभान बजारमा मात्र माछा बेचेर जीविका चलाउने २० जनाभन्दा बढी छन् ।

    गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तमानखोला माछाका लागि समेत चिनिने गरेको बताए । चिसो र स्वच्छ पानीमा हुर्केको भएकाले माछा स्वादिष्ट हुने गरेको उनको भनाइ छ । असला माछा लोप हुने देखेर गाउँपालिकाले पछिल्लो समय माछा मार्न कडाइसमेत गर्न थालेको छ ।

    अवैधरूपमा विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न रोक लगाइएको छ । “वडा नं ३ मा त निश्चित समय तोकेर मात्र माछा मार्न पाइने व्यवस्था छ”, उनले भने, “वडा तहमा फुकुवा भएपछि मात्र माछा मार्न दिइन्छ ।” वडा नं ४ को लाम्मेला हुँदै, तमानगाउँ, बोङ्गादोभान, भालिबाङ, हुन्द्राफेँदी हुँदै तमानखोलाको पुछारसम्मै माछा मारिन्छ ।

    गाउँपालिकाको बोङ्गाखोला र खुङ्खानी खोलामा पनि माछा मार्नेहरु भेटिन्छन् । जिल्लाको बडिगाड, निसी, भूजी, दरम, ठेउले, तारा, काठेलगायतका खोलामा असला माछा पाइन्छ । दरमखोलाको असला त कोसेलीका रूपमा विदेशसम्म पुग्छ । सुकुटी पारिएको असला माछा प्रतिकिलो रु सात हजारसम्म पर्छ । 

    आलो माछा रु ८०० देखि एक हजारसम्ममा बिक्री हुने गरेको गलकोट नगरपालिका–७ मल्मका व्यवसायी बाबुराम केसीले बताए । उनका अनुसार गलकोट नगरपालिका–७, ८ र ९ मा मात्र दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । पछिल्लो समय व्यावसायिकरूपमा माछा पाल्ने क्रम पनि बढ्दो छ । गलकोट र ताराखोलामा ‘रेम्बो ट्राउट फार्म’ समेत छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology