Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नार्पाभूमि गापाका मनिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर

नार्पाभूमि गापाका मनिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २७, २०७७ बिहिवार • ०९:४२:३७ बजे
  • 1.1K
    SHARES
  • नार्पाभूमि गापाका मनिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर
    मनाङ । राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको जिल्लाको नार्पाभूमि गाउँपालिकाका मनिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर छ । अधिकांश दैनिक उपभोग्य सामान खच्चडबाटै भित्रिने गरेको यस ठाउँमा चार हजार मिटरभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौँ खच्चड सामान बोकेर ओहोरदोहोर गरिरहेका हुन्छन् ।

    कुनै समय बाटो हिँड्नसमेत गाह्रो पर्ने क्याङ भिरमा पछिल्लो समय भने खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानीमा गरिन्छ । वर्षौँदेखि मनाङको सदरमुकाम चामेको कोतोदेखि यस गाउँपालिकाको केन्द्र र फू गाउँसम्म विकास निर्माणका सामग्री र दैनिक उपभोग्य वस्तु खच्चडबाटै ढुवानी गर्दै आएको वडा नं ५ का वडाध्यक्ष सोनम तेजे लामाले बताउनुभयो । “विकास निर्माणका सामान खच्चडबाट ढुवानी हुँदै आएको छ, नुन, तेल, चामल, सिमेन्ट, विकास निर्माणका आवश्यक सामान दैनिक खच्चडबाट महङ्गो मूल्य तिरेर गाउँसम्म पुर्याउन बाध्य छौँ”, उहाँले भन्नुभयो ।

    पहिले मानिसले दुई दिन लगाएर ज्यानै जोखिममा राखेर सामान ओसारपसार गर्नु पर्नेमा अहिले खच्चडबाट सस्तो मूल्यमा सामान ढुवानी हुन थालेको स्थानीयवासी बताउँछन् । तरकारीलगायत दैनिक प्रयोगका सामानहरु खच्चडबाट ढुवनी गर्दा समयमा नआउने, सड्ने गल्ने र कुहिने समस्या रहेको स्थानीय सोनम लाक्पा शेर्पाले बताउनुभयो । मोटर बाटो निर्माण भए यस्तो समस्या नहुने उहाँको भनाइ छ ।

    उहाँका अनुसार निजी घर निर्माणका लागि जस्तापातासमेत खच्चडबाट ढुवानी गर्दा प्रतिकेजी रु ८० देखि ९० सम्म लाग्ने गरेको छ ।
    खच्चडमार्फत दैनिक छ हजारदेखि १५ हजार केजीसम्म सामान आउने गरेको स्थानीयवासीले बताएका छन् । सडकको पहुँच नपुगेको यस गाउँपालिकामा दैनिक करिब १०० देखि १५० खच्चडको प्रयोग हुँदै आएको छ । जिल्लाका अरु सबै पालिकालाई मोटर बाटोले जोडे पनि यस गाउँपालिकामा खच्चड र मानिसले नै सामान ओसार पसार गर्नुको विकल्प छैन । स्थानीय तहको निर्वाचनपछि मोटर बाटोको ट्र्याक खोल्ने काम भए पनि एउटै भिर काट्न करोडौँ रकम खर्च गर्नुपर्ने स्थानीय तहले जनाएको छ ।

    यहाँका मनिसलाई जिल्ला सदरमुकामसम्म पुग्न पनि दुई दिन लाग्छ । बिरामी परे मानिसको बुई चढ्नु वा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन । एक पोका नुन लिनसमेत खच्चड र भरिया पर्खनुपर्ने यस गाउँपालिकाका मानिसलाई गाउँबाट मोटर चढेर सदरमुकाम पुग्ने रहर सपना जस्तै भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology