मंसिर १४, २०७७ आइतवार
•
१३:४७:३८ बजे
पर्वत - जिल्ला समन्वय समिति पर्वतको शुक्रबारको चौथो जिल्लासभाले जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रु पाँच करोड ६१ लाख ६८ हजार ५०० मध्ये जिल्लाका सात स्थानीय तहलाई रु ४० लाखका दरले विनियोजन गरेको छ। मौज्दात रकममध्ये रु दुई करोड ६१ लाख ६८ हजार ५०० जिल्ला समन्वय समितिको नयाँ भवन निर्माणका लागि खर्च गरिने र बाँकी रहेको रकम सातवटै पालिकालाई रु ४० लाखका दरले विनियोजन गर्ने निर्णय सभाले गरेको जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए।
सो रकम साविक जिल्ला विकास समितिबाट जिम्मेवारी सरेर आएको हो । विनियोजित बजेटबाट सातवटै स्थानीय तह र समन्वय समितिको साझेदारीमा विभिन्न योजना बनाउनुपर्ने निर्णय गरिएको छ। समितिको भवन निर्माण प्रक्रियासमेत यसै आर्थिक वर्षदेखि शुरु गरिने ढकालले जानकारी दिए।
सभाले जिल्लामा ढुंगा, गिटी बालुवा उत्खनन बिक्री र व्यवस्थापनसम्बन्धी कार्य गर्दा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएका शर्त, ठेक्का प्रक्रिया, अनुगमन समितिले दिएका निर्देशनसमेत स्थानीय तहले पालना गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी ढकालले जानकारी दिए।
विभिन्न १२ बुँदे निर्णय गर्दै सम्पन्न भएको सभाले चालू आर्थिक वर्षका लागि संघ र प्रदेश सरकार र अन्य स्रोतबाट प्राप्त हुने बजेट तथा कार्यक्रम प्राथमिकीकरण र वर्गीकरण गरी कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जिल्लामा न्यूनीकरणका लागि संघ र प्रदेशबाट जारी भएका आदेशको कार्यान्वयनमा सहयोग पु¥याउने, अस्पतालको स्तरवृद्धि, क्षमता वृद्धिका लागि सहजीकरण गर्ने, स्थानीय तहबाट भइरहेका विकास निर्माणका आयोजना तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउनका लागि समन्वय गर्ने, स्थानीय पूर्वाधार विकास कार्यक्रम प्रदेश सरकारको पनि संघीय सरकारकै कार्यविधि अनुसार परिमार्जन गर्ने प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत सभाले गरेको छ।
त्यसैगरी जिल्लामा विद्युत् र खानेपानी नपुगेको ठाउँमा सर्वसुलभ रुपमा ती सेवा पु¥याउन स्थानीय तहमा आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने निर्णय सभाले गरेको हो। जिल्ला सभाको प्रतिनिधिसभाका सांसद पदम गिरीले उद्घाटन गर्दै जिल्लाको समग्र विकासका लागि तीन तहका जनप्रतिनिधि एकजुट हुनुको विकल्प नरहेको बताए।