पोखरामा उपचाररत थप ४ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार पोखरा १ का ७५ वर्षीय पुरुषको आइतबार उपचारक्रममा मृत्यु भएको छ । गत मंसिर १५ गते कोरोना देखिएका उनको गण्डकी मेडिकल कलेजमा उपचार हुँदै आएको थियो । उनी निमोनिया र मिर्गौला रोगबाट समेत पीडित थिए ।
यसैगरी, पोखरा १७ की ६६ वर्षीया महिलाको आइतबार बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ । गत मंसिर १५ मा कोरोना पुष्टि भएको उनमा श्वासप्रश्वास समस्या थियो ।
यस्तै, पोखरा १७ का ३४ वर्षीय पुरुषको उपचारक्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । गत मंसिर ७ मा कोरोना देखिएकोमा उनमा मधुमेह र उच्च रक्तचाप समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदबिन्दु शर्माले जनाए ।
उता, लमजुङको वेशीसहर नगरपालिका वडा ११ की ४३ वर्षीया महिलाको शनिबार मणिपाल अस्पतालमै मृत्यु भएको छ । गत मंसिर ९ मा कोभिड–१९ देखिएकोमा उनमा मधुमेहको समस्या रहेको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७० पुगेको छ ।
गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ३३ पुगेको छ ।
