म्याग्दी - अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने नीलगिरि साउथ हिमालको पूर्वी फेदीमा रहेको संरक्षित राष्ट्रिय वनमा भीषण डढेलो लागेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ गाउँको सिरानमा निर्माणाधीन नीलगिरि जलविद्युत् आयोजना क्षेत्रको माथिल्लो खण्डमा मंसिर २८ बिहानदेखि शुक्रबारसम्म निरन्तर डढेलो लागिरहेको छ ।
बस्तीदेखि धेरै टाढा रहेको उक्त वनमा वन्यजन्तु सिकारीले डढेलो लगाएको अनुमान गरिएको छ । स्थानीय डिलबहादुर पुर्जाका अनुसार हिमाली चरन क्षेत्रमा रहने भेडीगोठ यतिबेला बेंसी झरेका छन् । ‘नीलगिरि फेदीमा कि निर्माणाधीन जलविद्युत् आयोजनाका कर्मचारीकामदार छन् कि सिकारी उक्लेका हुन्,’ उनले भने, ‘बाक्लो हिउँले सेताम्मे छोप्नुपर्ने हिमाली चरन क्षेत्रमा मंसिरमै डढेलो लाग्न थालेको छ ।’ मंसिरमा हिउँ र पानी नपर्दा सुक्खा बढेकाले डढेलो बढेको उनको अनुमान छ ।
हिमालमुनिका चरन क्षेत्रमा अघिल्ला वर्षभन्दा यो वर्ष चाँडो डढेलो सुरु भएको छ । लामो खडेरीले वायुमण्डलको आद्र्रता शुष्क हुँदा सानो आगोको झिल्काले पनि डढेलो वा आगलागी हुने वातावरणविद् बताउँछन् । जति सुक्खा भयो, त्यति नै दोब्बर ढंगमा डढेलो फैलन्छ । वन कार्यालयको अभिलेखअनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये ३६।७६ प्रतिशत वन, १।८५ झाडी, २१।२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । यो समाचार कान्तिपुरवाट साभार गरिएको हो ।