Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

म्याग्दीमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि प्रदूषण फैलिन थाले (भिडियो सहित)

म्याग्दीमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि प्रदूषण फैलिन थाले (भिडियो सहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २१, २०७७ मंगलवार • १४:१३:०५ बजे
  • 2.6K
    SHARES
  • म्याग्दीमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि प्रदूषण फैलिन थाले (भिडियो सहित)
    म्याग्दी । जम्मा गरिएको फोहोरमा आगलागी भएपछि प्रदूषण फैलिन थालेको छ । सदरमुकाम बेनी बजार क्षेत्रको फोहर व्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठूलो पहिरामा जम्मा गरिएको फोहरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदूषण फैलिन थालेको हो । जम्मा गरेको फोहोरमा आगलागी भएपछि दुर्गन्धयुक्त फोहोरको धुवाँले आसपासका बजार र बस्तीलाई असर गरेको छ ।

    लगातार फोहरको आगलागीको धुवाँले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड हुँदै आवतजावत गर्ने नागरिकसँगै जिल्लाको राउवडा र गलेश्वर तथा पर्वतको बगरफाँटलगायतका क्षेत्रका नागरिकले तत्काल आगलागी भएको फोहरको आगो नियन्त्रण लिन ध्यानाकर्षण गराए पनि नियन्त्रणको कुनै काम भएको छैन ।

    जलजला गाउँपालिका वडा नम्बर २ र ३ बौरका स्थानीयवासीले फोहरको धुवाँले प्रदूषण फैलिएको तथा यसले ज्येष्ठ नागरिक र बालबालिकालाई अझ बढी प्रभावित बनाएको भन्दै तत्काल आगलागीलाई नियन्त्रण गरी प्रदूषण फैलनबाट रोक्न माग गरेका छन् । बगरफाँटका युवा विज्ञान शर्माले अवैज्ञानिक तवरले गरिएको फोहर व्यवस्थापनको कार्यलाई रोक्न नगरपालिकाले तत्कालै ध्यान दिनुपर्ने बताउनुभयो ।


    पवित्र कालीगण्डकी नदीको किनारमा अवैज्ञानिक तवरले फोहर विसर्जन गर्ने कार्यले लामो समयदेखि आसपासका बासिन्दाले समस्या झेल्नुपरेको स्थानीयवासी हीरा बरुवालको भनाइ छ । ‘यो आजको मात्रै समस्या होइन, दशकौँदेखिको समस्या हो, फोहरको धुवाँले स्वासप्रश्वासमासमेत समस्या बढाएको छ’ , बरुवालले भन्नुभयो ।

    यता बेनी नगरपालिकाले फोहर व्यवस्थापन केन्द्र परिसरमा थुपारिएको फोहरमा बाहिरका व्यक्तिले आगलागी गराउँदा प्रदूषण फैलाएको जनाएको छ । दुई वर्षदेखि ठूलो पहिराको फोहर व्यवस्थापन केन्द्रमा थुपारिएको फोहरमा आगो लगाएर जलाउने कार्य रोकेर फोहरको वर्गीकरण गरी व्यवस्थापन गरिँदै आएको नगरपालिकाले जनाएको छ ।


    सङ्कलन केन्द्रको बाहिर थुपारेर राखेको फोहरको थुप्रो नजिकै एक व्यवसायीले आफ्ना म्याद नाघेका सामग्री जलाएको र सोही आगो फोहरमा सल्किएकाले प्रहरी प्रशासनको सहकार्यमा आगो लगाउने व्यक्तिको खोजी थालिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अुनसार दमकलको सहायताले पानी हालेर फोहरमा लागेको आगोलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ भने दीर्घकालीन रुपमा फोहरमा आगलागी भएमा कालीगण्डकी नदीको पानीलाई उपयोग गरी तत्काल आगो नियन्त्रण गर्न मोटर जडान गर्ने तयारी गरिएको छ ।

    नगरपालिकासँग सम्झौता गरी फोहर व्यवस्थापन गर्दै आएको मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालिले पुनःप्रयोग हुने सामान, कुहिने र नकुहिने सामग्रीको वर्गीकरण गरेर फोहरलाई नगदमा रुपान्तरण गर्दै आएको थियो । प्रालिले केन्द्रदेखि बाहिर सडकसम्मै थुप्रो बनाएर फोहर थुपार्ने कार्यलाई भने सुधार गर्न सकेको छैन् । नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले फोहर व्यवस्थापन केन्द्रको निरीक्षण गरी तत्काल फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न सो कम्पनीलाई निर्देशन समेत दिइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # फोहोरमा आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology