पोखरा - परीक्षा केन्द्रभन्दा बाहिर लगेर एक छात्रालाई कक्षा ११ को परीक्षा दिन लगाएको आरोपमा पोखरा महनगरपालिका १ स्थित राष्ट्रिय माविका तीन शिक्षक पक्राउ परेका छन् ।
विद्यालयका प्रधानध्यपक सहित तीन शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विद्यालयका प्रधानध्यापक ४८ वर्षीय सूर्य तिवारी, शिक्षकद्वय घनश्याम रेग्मी र शिरिष कुमार बस्ताकोटी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको पत्रका आधारमा ती शिक्षकलाई पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई शिक्षा ऐन सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । कक्षा ११ को ऐच्छिक अग्रेजी र शैक्षिणिक बिधि विषयक आंशिक परीक्षामा एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगी अमर्यादित रुपमा परीक्षा लिएका आरोप ती शिक्षकमा छ ।