पोखरा- ग्याँस लिक भई आगलागी हुँदा पोखरा बागमारामा एक महिला जलेर घाइते भएकी छन ।
शनिबार बिहान ५।०० बजे भान्सा कोठामा चिया पकाउने क्रममा एक्कासी ग्याँसमा आगलागी हुँदा पोखरा ३३ बागमारास्थित गण्डकी बेँसी निवासी ४६ वर्षीया पद्मा कुमारी थापा जलेर घाइते भएकी हुन। जलेर घाइते थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार रातको समयमा ग्याँस लिक भई कोठामा जम्मा भएको र बिहान ग्याँस बाल्ने क्रममा एक्कासी आगलागी भई पड्किएको ग्याँसले धनबहादुर थापाको दुई तले पक्की घरको भान्साकोठाको पर्खाल, ढोका र झ्यालमा क्षति पुग्नुको साथै घरका अन्य सातवटा झ्यालका सिसासमेत फुटेको जानकारी दिएको छ ।
जलेर घाइते थापाको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।