सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई चरणमा निर्वाचन गर्ने जिल्लाको टुंगो लगाएको छ ।
दुई चरणमा निर्वाचन गराउन छुट्याएको प्रदेशका आधारमा पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन हुनेछ ।
५ पुसमा प्रतिनिधि सभा विघटन गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १७ र २७ गते निर्वाचन गर्ने तय गरेका थिए। त्यसअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने प्रदेश छुट्याएको हो। पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।
उनका अनुसार दोस्रो चरणमा २७ वैशाखमा बाँकी तीन प्रदेशमा निर्वाचन गराउने निर्णय गरिएको छ। प्रदेश १, बाग्मती र कर्णालीमा दोस्रो चरणमा निर्वाचन हुनेछ। कुन प्रदेशमा कहिले निर्वाचन गराउने भन्ने विषयमा सुरक्षा परिषद्ले तय गरेको थियो। सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि यसको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन्। त्यस्तै, यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ।