पोखरा - पोखरामा आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ५८ वर्षीय जुमबहादुर कामीको हत्या आरोपमा पक्राउ पर्नेमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं -३ पाउँदुरकोट स्थायी घर भई हाल पोखरा -३२ महाकुना बस्दै आएका ३४ वर्षीय छोरा रामकृष्ण कामी रहेका छन् ।
सोमबार बिहान अन्दाजी १० बजेको समयमा सोही ठाउँ बस्ने रामकृष्णका बाबु ५८ वर्षीय जुम बहादुर कामीको घरको भर्याङबाट लडेर मृत्यु भएको भन्ने जानकारी लगत्तै ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी अधिकृत सहितको अनुसन्धान टोलीले घटनाका विषयमा गरेको सुक्ष्म अनुसन्धानमा मृतक जुम बहादुरको हत्या भएको पत्ता लगाएको हो ।
फागनु ९ गते राति बाबु छोरा बीच विवादभई झगडा हुँदा छोरा रामकृष्णले ढोकामा लगाउने चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको प्रारम्भीक बयानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी बताए ।
अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको काठको चारपाटे ढोकामा लगाउने आग्लो बरामद गरेको छ ।रामकृष्ण विरुद्ध जिल्ला अदालत कास्कीमा कर्तव्य ज्यान मुद्दा दर्तागरी अनुसन्धान अगाडि वढाइएको जानकारी प्रहरीले दिएको छ ।