कालिकोटबाट सुर्खेत आउँदै गरेको मिनिबस दैलेखको आठविसमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सदरमुकाम मान्मबाट आउँदै गरेको कर्णाली प्रदेश ०२४७ एसएमएल नम्बरको गाडी दैलेखको आठविस नगरपालिका-३ सेराघाटमा दुर्घटनामा परेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दका अनुसार दैलेखको आठविसमा बिहीबार बिहान ११ बजे गाडी दुर्घटना भएको हो । ओभरटेक गर्ने क्रममा गाडी सकडबाट करिब ६० मिटर तल खसेको छ ।
दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका–२ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल बिकको मृत्यु भएको उनले जानकारी दिए। शाहीको घटना स्थलमै मृत्यु भएको हो भने बिकको दुर्घटनास्थल नजिकै रहेको शाही मेडिकलमा उपचार गर्ने क्रममा मृत्यु भएको एसएसपी चन्दले जानकारी दिए । गाडीमा चालकसहित १९ जना सवार दिए। दुर्घटनामा घाइते भएका ११ जनालाई दुइटा एम्बुलेन्समा राखेर सुर्खेत ल्याउन लागिएको चन्दले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।
बाँकी ५ जना घाइतेको अवस्था सामान्य रहेको र शाही मेडिकलमै उपचार भइरहेको छ । गाडीका चालक र सहचालक भने फरार रहेको उनले जानकारी दिए। ‘घटनालगत्तै उनीहरू भागेको आशंका गरिएको छ, त्यहाँ टेलिफोन पनि लागिरहेको छैन,’ एसएसपी चन्दले भने, ‘प्रहरीले खोजी गरिरहेको छ।’