पोखरा - पोखरामा चेक जाचको क्रममा करिब ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-३० स्थित सडकबाट सोही महानगरपालिका-२९ सैनिक बस्ती बस्ने २५ वर्षीय अनिल आलेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । सुनौलीबाट पोखरातर्फ आउँदै गरेको ग१ ख ८९२८ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रौतहट, उदयपुर, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) का विभिन्न स्थानबाट अवैध लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । रौतहट, चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९ सय ट्याव्लेट सहित सोही नगरपालिका-३ बस्ने ३० वर्षीय राजु कुमर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले ना।५८ प ९५४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगढाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ५१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नुर्फिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल र नगद १५ हजार ४ सय रुपैयाँ सहित सोही नगरपालिका-३ भुल्के बस्ने ३७ वर्षीय सहिद मियाँलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी उदयपुर बेलका नगरपालिका-७ बस्ने दान बहादुर राईलाई करिब २ केजी ८ सय ५० ग्राम र सोही ठाउँ बस्ने ४० वर्षीय हस्त बहादुर राईलाई ६ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका-११ बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १४ हजार ३५ रुपैयाँ र ब्राउन सुगर सेवन गर्न प्रयोग हुने सिक्का सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-११ मेन चोकमा उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत कुश्मा नगरपालिका-१२ बस्ने २४ वर्षीय प्रकाश नेपाली र सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन्द्र विक रहेका छन् । उक्त स्थानमा ना।७ ख १५२० नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पश्चिम), सुस्ता गाउँपालिका-२ सत्तपति चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो १ हजार ८ सय ७२ क्याप्सुल, ओनोरेक्स ३१ सिसि र नाईट्राभेट १ सय २० क्याप्सुल सहित बर्दघाट नगरपालिका-४ बसपार्क बस्ने १९ वर्षीय अजय मुसहरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं ,काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा मिर्चैया नगरपालिका-३ घर भएका १९ वर्षीय जोनसोन कुमार शाह र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय रबी पटेल रहेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले ७९ ट्याब्लेट सहित उनीहरुलाई फेला पारेको र शाहको कोठाबाट थप १ सय ८० ट्याबलेट नाइट्राभेट समेत बरामद गरेको छ । उक्त घटनाको थप अनुसन्धानको क्रममा सिरहा सिराहा नगरपालिका-९ घर भएका २३ वर्षीय मिलन यादबले तिनकुनेस्थित अन्नपूर्ण ब्वाईज होस्टेलमा लागूऔषध बेचबिखन गर्ने गरेको खुल्न आएपश्चात उक्त होस्टेलको कोठा तलासी गर्दा स्रोत नखुलेको ३ लाख ५० हजार रुपैयाँ फेला पारी मिलन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चानदेवबाट नियन्त्रित लागूऔषध १४ ट्याब्लेट रेगास्टर, ८७ ट्याब्लेट कपट्याब, १० ट्याब्लेट नाइट्राभेट, २ ग्राम २० मिलिग्राम खैरो धुलो पदार्थ र २ ग्राम ५ सय ७० मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो पदार्थ सहित शुल्लाफाटा नगरपालिका-१० झलारी बस्ने २१ वर्षीय प्रकाश ठगुन्ना सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित शिव भक्त मिश्रको पसल अगाडिको २ वटा बेन्च चोरी गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।