पोखरा - पोखरामा लामा पोसाकमा अवैध रूपमा चन्दा उठाई ठगी गरेको आरोपमा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेका छन् ।
लामा पोसाकमा टासी छोग्याल गुम्बा गजुरा २ कटानी रौतहटको रसिद लिई पोखरा १५ नयाँ गाउँ मितेरी पुल नजिक अवैध रूपमा रकम चन्दा उठाई ठगी गर्दै हिँड्ने ५ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
अवैध रूपमा रकम चन्दा उठाई हिँडिरहेको अवस्थामा मकवानपुर बकैया -१ आहाल डाँडा घर भई पोखरा ९ पृथ्वीचोक बस्ने ४२ वर्षीय छिरिङ भन्ने निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जित बहादुर थिङलाई पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो । उनीहरुलाई चन्दा बापत उठाएको रकम ४२ हजार चार सय ९१ , रसिद ठेली, फाइल र रजिस्टरसहित चैत्र २९ गते दिउसो ४ बजे पक्राउ गरिएको प्रवक्ता हमालले बताउनुभयो ।
पक्राउ परेकाहरूलाई ठगी सम्बन्धी कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।