बागलुङ - बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । गलकोट नगरपालिका ४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो ।
कुटपीटबाटै सार्कीको निधन भएको आशङ्का गाउँलेले गरेपछि प्रहरीले घटनास्थलमा पुगेर छानविन शुरु गयो । घटना अनुसन्धानकै क्रममा रहे पनि आमाछोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले आमाछोरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
मदिरा सेवनका कारण घरायसी विवाद आएको देखिन्छ, आमाछोराले कुटपिट गरेपछि लडेर चोट लागेको जस्तो बनाउन थालेका रहेछन्उ नले भने, ३ गते मृत्यु भइसकेपछि छिमेकीले थाहा पाए, शरीरमा चोटपटक रहेछ, अनुसन्धानका क्रममा काठको आउलो प्रहार गरेको पाइएको छ, थप अध्ययन भइरहेको छ ।
आमाछोरा मिलेर हत्या गरेको भन्दै मृतकका दाजु ६० वर्षीय जुठे सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएपछि प्रहरीले मृतकका श्रीमती कुमारी सार्की र उनका छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ ।