Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेचीपारिका नेपाली बस्तीमा पहिलोपल्ट बल्यो बिजुली

मेचीपारिका नेपाली बस्तीमा पहिलोपल्ट बल्यो बिजुली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ७, २०७७ शनिवार • १७:३४:४९ बजे
  • 1.6K
    SHARES
  • मेचीपारिका नेपाली बस्तीमा पहिलोपल्ट बल्यो बिजुली

    झापा । नेपालको सिमाना मेची नदीपूर्वका चार बस्ती नेपाली भूभागभित्र पर्दछन् । तीमध्ये मेचीनगर नगरपालिका १५ स्थित तीन बस्तीमध्येको ग्वालबस्तीका १७ घरमा शनिवारदेखि बिजुली बत्ती बलेको छ ।

    images

    शिक्षा, स्वास्थ्य र यातायातलगायतका विकासको पूर्वाधार नपुगेका ती गाउँका अधिकांश बासिन्दा अझै टुकी र लालटिन बत्तीमा निर्भर थिए । केही घरमा दुई बल्भसम्म बल्ने सौर्य उपकरण थिए । वर्षौदेखि लगभग अन्धकार रहेको मेचीपारिको ग्वालबस्तीमा मेचीनगर नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको भद्रपुर वितरण केन्द्रले बिजुली बत्ती पुर्याएको हो ।

    मेचीनगर क्षेत्रमा मेची नदीपारि रहेको ग्वालबस्तीमा, सिसौडाँगी र झाडुबस्तीमा १५० परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये ग्वालबस्तीका १७ परिवारलाई आजै निःशुल्क मिटर जडान गरेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीले संयुक्तरुपमा बिजुलीको स्वीच थिचेर बत्ती बालेकी हुन् ।

    अन्य बस्तीमा समेत बिजुली बत्ती बाल्लका लागि धमाधम खम्बा गाड्ने काम भइरहेको मेचीनगर १५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए । बाँकी रहेका दुई ओटा बस्तीमा यसै महीनाभित्र बिजुली बालिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । मेचीपारिका बस्तीमा प्रायः यादव, सन्थाल र पाहान जातिको बसोबास छ ।

    बर्खामा मेची नदीमा बाढी आउँदा यी बस्ती नेपालतिरको भूभागबाट कम्तीमा तीन महीना सम्पर्क विच्छेदको अवस्थामा रहन्छन् । स्थानीयवासीले वर्षौंदेखि नदीमा पुलको माग गर्दै आए तापनि मागको सुनुवाइ हुन सकेको छैन ।

    नगरपालिकाले नदीमा झोलुंगे पुल निर्माणको पहल गरिरहेको उपप्रमुख उप्रेतीले बताइन् । मेची पारिका तीन बस्तीमा एउटा आधारभूत विद्यालय सञ्चालन भइरहेको छ । नदीमा पुल नभएका कारण नदी पश्चिमबाट शिक्षक बर्खायाममा विद्यालय जान नसक्दा पठनपाठन बन्द हुने गरेको छ । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology