पोखरा - पोखरामा नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिंडिरहेका एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका -१४ स्थित निर्माणधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा शनिबार अन्दाजी ५ :३० बजेको समयमा प्रवेश गरी शंकास्पद हर्कत गर्दै हिंडिरहेका मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं -४ बस्ने १८ वर्षीय बिपिन लगुन बिकलाई नियन्त्रणमा लिईएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
बिकले विमानस्थलभित्र नेपाली सेनाको हुलियामा पसेर शंकास्पद हर्कत गरेपश्चात विमानस्थलको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले चेकजाँच गर्दा उनी नेपाली सेनामा कार्यरत नभएको पत्ता लागेपछि सेनाले नियन्त्रणमा लिएर अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।
सेनानी दर्जाको दर्ज्यानी चिन्हसहितको पोशाक, बुट, श्री भगवतीदल गण पोखरा लेखिएको १ थान परिचय पत्र लगायत फ्लाई रोज लेखिएको कालो रङको नक्कली वाकिटकी रेडियो १ थान सेटसहित पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता हमालले जानकारी दिए ।