पोखरा - कास्कीको माछापुछ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताएका छन् ।
गाउँको १ सहकारीका सदस्य सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा ३ जनामा संक्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट टेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा संक्रमण पुष्टि भएको बताइन्छ । संक्रमित भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन् । कार्यालयबाट सेवा प्रवाह गर्दा संक्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।