Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णिमा) पर्वको रौनक

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णिमा) पर्वको रौनक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १५, २०७७ आइतवार • १०:००:१२ बजे
  • 1.5K
    SHARES
  • म्याग्दी र मुस्ताङमा बसोबास गर्ने  थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णिमा) पर्वको रौनक

    म्याग्दी - म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ ।

    images

    नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

    तोरन ल्ह मनाउन घर बाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले बताए ।

    तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ शेरचनले भने, आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति दरवाङ क्षेत्रले रातोढुङ्गा र दाना क्षेत्रको आयोजनामा तिप्ल्याङ तारो खेल (आर्चरी) शुरु गरेको छ ।

    तारो खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिकग्रन्थहरूमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जङ्गली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकूदको एउटा विधाका रूपमा मान्यता पाएको छ ।

    आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरु अल्पसङ्ख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचान मानेको थकाली सेवा समिति दरवाङ क्षेत्रका अध्यक्ष विनोद भट्टचनले बताए । एउटा समूहमा छ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धातुका समेत धनुष बनाउने गरिएको छ ।

    एक सयदेखि डेढ सय मिटरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र कोपिएको आधारमा खेलको मूल्याङकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।

  • सम्बन्धित विषय:

  • # फागु पूर्णिमा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology