स्याङ्जा - स्याङ्जामा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। सोमबार बिहान पौने आठ बजे वालिङ नगरपालिका-७ बिसाउनीराजमा ग १ ख ९५९४ नम्बरको विङ्गर गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
उक्त गाडीमा १० जना सवार थिए। त्यमध्ये आठ जना घाइते भएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।चापाकोटबाट वालिङ जाँदै गरेको गाडी उकालोमा चालकले गाडी रोकेर ब्याक भएर दुर्घटनामा परेको हो।गाडी सडकबाट १५ मिटर तल खसेको हो।
वालिङ-१३ की २३ वर्षीया साबित्रा गैरे, भिरकोट नगरपालिका-१ की ३४ वर्षीया सातुमा खातुन, उनकी १० वर्षीया छोरी अफ्रिया खातुन, ३१ वर्षीय मजबुन मिया, उनकी छोरी १० वर्षीया महबुदा खातुन र ३ वर्षीय छोरा महमद मिया घाइते छन्।
त्यस्तै, १४ वर्षीय जदिदा खातुन, पुतलीबजार नगरपालिका-१० का २७ वर्षीय फालिदा बेगम पनि घाइते छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।