file pic
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो ।
उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । साथै छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ । कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा पनि आगलागीका घटना बढेका छन्, उनले भने, फिरफिरेलाई घेरेका सबै सामुदायिक वनमा आगलागीका घटना बढेका छन् ।
वायु प्रदूषणको चरम अवस्थामा बढेका डढेलोले गर्दा लाखाैं वन्यजन्तु र बोटबिरुवा विनाश हुनुका साथै मानव जीवनको स्वास्थ्यमासमेत नकारात्मक असर पुगेको गुरुङले बताए । केही व्यक्तिको लापरवाहीका कारण यस्तो अवस्था सिर्जना हुन्छ, यसलाई नियन्त्रणका लागि सबै सचेत बन्नुपर्छ, उनले भने, अनैतिक काम गर्ने युवाका कारण पनि डढेलोका घटना बढेको हुनसक्छ ।
हिउँदे समय शुरु भएसँगै वन जङ्गलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय तनहुँले पनि डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ । चैत वैशाखको समयमा वन जङ्गलमा अत्याधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो ।
जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिम गठन गरिएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौ, उनले भने ,डढेलो लागेको थाहा पाउने वित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।
वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए । डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौ, उनले भने, सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ । यो वर्ष भने अहिलेसम्म जिल्लामा डढेलोको समस्या देखिएको छैन ।
जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा ६१६ सामुदायिक, ४८५ कबुलियती, ६ धार्मिक वन रहेका छन् । रासस