Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जिब्रो छेड्ने प्रसिद्ध जात्रा

बुद्धकृष्ण वाग श्रेष्ठले नै आठौँपटक जिब्रो छेड्ने

बुद्धकृष्ण वाग श्रेष्ठले नै आठौँपटक जिब्रो छेड्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • ०९:५६:०६ बजे
  • 1.3K
    SHARES
  • बुद्धकृष्ण वाग श्रेष्ठले नै आठौँपटक जिब्रो छेड्ने

    थिमि - थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने प्रसिद्ध जात्रामा यसपटक पनि बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेडाउने भएका छन् । यो उनको आठौँपटक हो ।

    images

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले यसपटक पनि ४८ वर्षीय श्रेष्ठले जिब्रो छेडाउने जानकारी दिए । यो जात्रा वैशाख २ गते पर्छ ।

    नगरपालिकाले जात्राका लागि आर्थिक सहयोग पनि गर्ने निर्णय गरेको छ । थिमिको सिन्दूरे जात्रा र महालक्ष्मी स्थानमा लिङ्गो ठड्याउने जात्रासँगै यो जात्राको पनि महत्व छ ।

    जिब्रो छेडाउने जात्राबारे बोडेमा चलेका दुई किम्बदन्ती

    पहिलो किम्बदन्तीः ;

    बोडे तल धर्मपुरमा रहेको नीलबाराहीको दायाँबायाँ बस्ने भूत, पिचास, ख्याकहरुले मान्छेको रुप धारण गरी कहिले खेतिपातिमा सघाउथे भने कहिले भोज भतेरमा आउने गर्थे । वनदेवी रिसाएका बेला भने सक्कली रुप देखाएर तर्साउने, दुःखकष्ट दिने गर्दथे । त्यसैले धर्मपुरबाट मानिसहरु बोडेमा सरे । बस्ती सार्दा पनि ख्याकले दुःख दिन नछाडेपछि तान्त्रिकको खोज्दा भेटियो, देवपतनका भिमदत्त कर्माचार्य ।

    भीमदत्तले तान्त्रिक विधिअनुसार बोडेलाई घेरेर नदेखिने पासो थापे, जसमा ख्याक परेको थियो । निलबाराही ढोकाको पाले ख्याकको स्वरुप देखेर रिसाएका गाउँलेले कसैले कपाल तानिदिने, कसैले लुगा फुकालिदिने, कसैले भाग्ला भनेर खुट्टा समाउने, कसैले जिब्रो छेडाउने गरिदिए । दुःख सहन नसकेको ख्याकले गाउँलेलाई केही नगर्ने र सात वर्षसम्म उनीहरुको अघि आएर जिब्रो छेडाउने बाचा गरेपछि महालक्ष्मी मन्दिरमा लगेर जिब्रोमा छेडेको सियो झिकिदिएका थिए ।

    तर यो निलबाराहीलाई मन नपरेकाले गाउँलेलाई दुःख भइरह्यो । तान्त्रिक भिमदत्तको सपनामा निलबाराही प्रकट भएर तन्त्र जान्यो भन्दैमा ख्याकलाई दुःख दिन नहुने बताइन् । त्यसैले क्षमापूजा गर्नुपर्ने भयो, जुन जिब्रो छेड्ने अघिल्लो दिन अहिलेसम्म पनि गरिन्छ ।

    निलबाराहीले ख्याकलाई दुःख नदिनु, देश र जनताको हित गर्न अरु मानिसलाई बोलाएर पनि जिब्रो छेडाउन सकिन्छ भिमदत्तको सपनामा भनेकी थिइन् । तर, सात वर्षसम्म ख्याकको जिब्रो छेडाएपछि आठौँ वर्ष जात्रा छाड्दा केही नराम्रो होला कि भन्ने डर र जात्रा मनाउँदा रमाइलो हुने भएकाले स्थानीयकै जिब्रो छेडाएर जात्रा निरन्तर गरे ।

    दोस्रो किम्बदन्तीः

    धर्मपुरमा मान्छेहरु खेतिकिसानी गरेर परिवार चलाइरहेका थिए । धर्मपुरदेखि माथिको डाँडा बोडेमा भने उस्तो आवतजावत थिएन । त्यसैले बोडेमा के छ भन्ने थाहा थिएन ।

    बस्ती छाडेर माथिल्लो डाँडामा जान उनीहरुलाई डर पनि भयो । यस्तैमा एक दिन आगो बोकेर डाँडाबाट कोही आएको जस्तो देखियो । आगो बोकेर को आयो भनेर मान्छेहरु हेर्न गए । बत्ति बोकेको मान्छेको पछिपछि लाग्दा महालक्ष्मी मन्दिर भएको ठाउँमा आगो बोकेको मान्छे अलप भयो । अर्को दिन पनि त्यसैगरी आगो बोकेर आएको मान्छे देखियो । कहाँ गयो भनेर हेर्दा कालिकामाई भएको ठाउँनेर अलप भयो ।

    हातमा आगो बोकेको, जिब्रो निकालेको स्वरुप हरेक रात आउने र मन्दिरमा पुगेर अलप हुने गरिरहेको थियो । हरेक दिन मान्छे त्यही स्वरुपलाई पछ्याउँदै जाँदा मन्दिरको परिक्रमा गरिरहेका थिए । त्यो उनीहरुको नियमित काम जस्तो बन्न थाल्यो ।

    महालक्ष्मीको मन्दिरभित्र गएर सिद्ध भएकाले जिब्रो छेडेर आउने स्वरुप भैरवको भएको र भैरवले त्यही कुरा निरन्तर गरुन् भनेर आराधना गरेको विश्वासमा स्थानीयले निरन्तर त्यही गर्न थाले ।

    वर्षमा एक दिन भएपनि सबै मान्छे भैरवले जस्तै देउता घुमौँ भनेर लाग्दा त्यसले त जिब्रो पनि निकालेको थियो नि भन्ने कुरा उठ्यो । त्यसैले मानिसहरुले जिब्रो छेडेर लगातार जिब्रो निकाल्दै मन्दिरहरु परिक्रमा गर्ने काम गर्न थाले । त्यसले खेतिपातिसँगै स्थानीयको स्वास्थ्य राम्रो भएको विश्वास गरियो । त्यसैले अहिले पनि जिब्रो छेड्ने, चिराग लिएर जाने गरिन्छ । महालक्ष्मी मन्दिरको माटो हालेपछि जिब्रोमा छेडिएको घाउ ठिक हुन्छ भन्ने विश्वासमा त्यसै गरिन्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology