Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बिस्का जात्रा : भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते

बिस्का जात्रा : भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १०:३३:५६ बजे
  • 1.2K
    SHARES
  • बिस्का जात्रा  : भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते

    भक्तपुरमा बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा गएराति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन्।

    images

    आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    शनिबार दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको थियो। राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भक्तपुर नगरपालिका १० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन्। घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएको थियो। कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको प्रहरीले जनाएको छ।

    त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा १ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा २ का २२ वर्षीय रमेश माता, भनपा ६ का ३० वर्षीय अमिक त्वायना घाइते भएका छन्। घाइते सिन्ताकलको भक्तपुरमा अस्पतालमा उपचार भइरहेको छ भने त्वायनालाई थप उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ।

    अर्का घाइते भक्तपुर नपा ६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ। घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ।

    अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पुयाइएका छन्। यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो।

    रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो।

    भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु गरिन्छ । विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प मयो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ।

    थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन्।

    भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबार स्क्वायर नेसं ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको छ।

    अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुनपुगेको श्रेष्ठको भनाइ छ।

    बिस्केट जात्रामा भैरवको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि भएको श्रेष्ठ बताउँछन्। विश्व भैरवनाथको प्रतीकका रूपमा लिङ्गोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको जनविश्वास छ।

    प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी टौमढीमा ल्याएर रथमा बिराजमान गराएपछि विधिवत्रूपमा जात्रा शुरु गरिन्छ।

    देवतालाई रथमा राखेपछि स्थानीयवासीले भैरवनाथको रथको अगाडि र पछाडि राखिएको डोरी तानातान गरेर माथिल्लो क्षेत्र र तल्लो क्षेत्रको बासिन्दाले रथलाई तानेर आआफ्नो टोलमा लैजान रथ तान्ने गरिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पुयाएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ। रासस

  • सम्बन्धित विषय:

  • # बिस्काः जात्रा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology