म्याग्दी - म्याग्दीमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजे बेनी नगरपालिका ४, थामडाँडामा खरबारीमा सल्केको डढेलो निभाउने क्रममा भिरबाट लडेर ६० वर्षीय मनबहादुर गुरुङगको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पर्वतको जलजला गाउँपालिका, ५ धौलापाराका गुरुङ ज्याला मजदुरी गर्ने क्रममा थामडाँडामा बस्थे । अन्य गाउँलेसँगै वनमा लागेको डढेलो निभाउन गएका गुरुङ तलबाट डढेलोको लप्का आएपछि भाग्ने क्रममा भीरबाट खसेको प्रहरीले जनाएको छ ।
स्थानीय तमबहादुर विकले आफ्नो बारीमा लगाएको जिलौटो पोल्ने क्रममा आगो अनियन्त्रित भई छिमेकी धनबहादुर गुरुङको खरबारी हुँदै थामडाँडा सामुदायिक वनमा डढेलो फैलिएको थियो । डढेलो ४ बजेपछि वर्षा भएपछि आफै नियन्त्रणमा आएको थियो ।