गोरखा । गण्डकी गाउँपालिका ५ सयमुरेमा स्थानीयवासीले परम्परागत काठको खोर थापेर चितुवा नियन्त्रणमा लिएका छन् । लामो समयदेखि दर्बुङसहित आसपासको क्षेत्रमा चितुवाले घरेलु पशुचौपाया मारेर आङ्तक नै मच्चाउन थालेपछि डिभिजन वन कार्यालय गोरखाको समन्वयमा स्थानीयवासीले सयमुरेमा थापेको खोरमा चितुवा परेको हो ।
चितुवा कुन उमेरको हो, भाले वा पोथी हुन हो भन्ने बारेमा खुल्न बाँकी रहेको सब डिभिजन वन कार्यालय सिउरेनीटार प्रमुख साहायक बन अधिकृत मनमोहन मिश्रले जानकारी दिए ।जनशक्ति पनि पर्याप्त नभएकाले पनि तत्काल घाउचोट नलाग्ने गरी सुरक्षित उद्दार गर्नका लागि आवश्यक सामग्री जुटाउन समय लागेको उनले बताए ।
खोरमा परेको चितुवा उद्दार गरी अन्यत्रै लगेर छोड्ने डिभिजन वनकार्यालय प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो दुई महिनाको अवधिमा चितुवाले गण्डकी गाउँपालिकाको रानागाउँमा मात्रै बाख्रा र गोरु गरी १७ वटा घरपालुवा पशु, सयपुरेमा १० वटा गाइगोरु र राईथोकमा पाँच वटा बङ्गुर तथा पाँच वटा बाख्रा मारेको स्थानीयवासीको भनाइ छ ।
चितुवाको आङ्तक बढ्न थालेपछि स्थानीयवासीले मिलेर करिब एक महिना अघि काठको खोर बनाएर थापेका थिए ।