नेपालगन्ज - बाँकेको कोहलपुरस्थित रोहिणी खोला नजिकै यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरानका लागि छुटेको यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा ४२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका १३ स्थित शुक्रबार साँझ विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनास्थलमा साँझ अवेरसम्म उद्धार कार्य जारी थियो ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याए लगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डीएसपी रवीन्द्र खनालले जानकारी दिए।
घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । उद्धार गरिएका ४२ घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
दुर्घटनामा परी मृत्यु भएका ५ जनामध्ये ४ जनाको सनाखत भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काका अनुसार मृतक सुर्खेत लेकबेशी नगरपालिका (साविक साठाखानी–७ निवासी) का जीवनकुमार विक, झापा मेची नगरपालिका-१० का बसका मालिक छत्रबहादुर कटुवाल, कोहलपुर नगरपालिका ३ का टिप्पर चालक खगेन्द्रबहादुर सुनार, कोहलपुर-१२ का टिपरका सहचालक उदय बाठा छन्। मृतक एक महिलाको सनाखत भएको छैन।