विराटनगर । अस्पताल डुलाउँदा डुलाउँदै कोरोना संक्रमित महिलाको विराटनगरका मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेकी ३५ वर्षीय जैनव खातुनको सोमबार बिहान मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आईसीयूमा सिफ्ट गर्नुअघि एण्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना गर्न मानेन ।
आफन्तले गोल्डेन अस्पतालबाट बुढीगंगा गाउँपालिका २ मा रहेको विराट मेडिकल कलेज करिब ८ किलोमटर टाढा विराट मेडिकल कलेज पुर्याए । तर अस्पतालले भर्ना लिन मानेन ।
कोशी अस्पताल पुर्याउँदा करिब साढे ४ बजेको थियो । तर एण्टीजेन पोजेटिभ केस भन्दै अस्पतालले आइसोलेसनमा राख्यो र पीसीआर परीक्षण नगरी उपचार शुरु नहुने बतायो । आफन्तले विरामीलाई लिएर नोबेल मेडिकल कलेज पुर्याए ।
कोशी अस्पताल लैजानु अघि सम्पर्क गर्दा म्याक्स अस्पतालमा सम्पर्क गरे, तर फोनमै विरामी नल्याउन भनियो । त्यसपछि नोबेल पुर्याए । तर एण्टीजेन पोजेटिभ भएको जानकारी पाएपछि नोबेल मेडिकल कलेजले पनि आईसीयू छैन भन्दै विरामीलाई फर्कायो । आफन्तले पुनः कोशी अस्पतालमा लगे । त्यसबेला बिहान ६ बजिसकेको थियो ।
आइसोलेसनमा राखेर उपचार शुरु गर्दैगर्दा महिलाको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा। चुमनलाल दासले बताए ।
अस्पतालमा ल्याउँदा विरामीमा अक्सिजन लेभल कम देखिएको थियो । बिरामीको मृत्यु भएपछि आफन्तले शव बुझेर घर लगेका छन् ।