तनहुँ । तनहुँको व्यास नगरपालिका ६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै हुनुहुन्थ्यो । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो । दाई मलाई बचाउनु, चितुवाले आक्रमण गर्यो ।
मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलामाथि आक्रमण गर्न खोज्दै थियो । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवा कुमालमाथि नै जाइलाग्यो । चितुवामाथि एक्लै भिडेका कुमालले चितुवाको खुट्टा समात्न पुगे, अनि लगत्तै टाउको पनि । दुई मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि उनका भाइ भेषबहादुर पनि घटनास्थल आइपुगे । कुमालले भाइसँग मिलेर चितुवालाई नियन्त्रणमा लिए ।
हल्लाखल्ला भएपछि गाउँले जम्मा हुन थाले । अन्य केही व्यक्तिको सहयोगमा चितुवालाई बाध्न सफल भइएको कुमालले बताए । शुरुमा चितुवा देख्ने वित्तिकै डर लाग्यो तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भएपनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो कुमालले भने, करिब दुई मिनेट जति चितुवासँग घम्साघम्सी भयो । कुमालका अनुसार चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको थियो । चितुवा बुढो बुढो रहेछ, त्यसलाई बाँधेर राखेपछि प्रहरीलाई खबर गर्यौं उनले भने ।
चितुवा नियन्त्रणमा आइसकेपछि चितुवा हेर्न स्थानीयवासीको भीड लागेको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवा नियन्त्रणमा लिइएकोबारे जानकारी आएकाले टोली त्यसतर्फ जान लागेको जानकारी दिए । हामीलाई प्रहरीमार्फत जानकारी आएको छ, हाम्रो टोली त्यता जाँदैछ उनले भने । तनहुँमा केही समय यता चितुवाको आतङ्क छ । जङ्गलमा आहारा नभएपछि चितुवा मानववस्ती छेउ आउने गरेको छ । विगत दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । रासस