बागलुङ। कोरोना भाइरस विरुद्ध खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पहिलो चरणमा कोरोना खोप लगाएका धौलागिरी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा पुश्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
दुई महिला स्वास्थ्यकर्मीले सुरुवाती चरणकै दुवै डोज कोरोना खोप लगाए पनि केही लक्षणका आधारमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनले बताए । खोप लगाएकालाई समेत कोरोना देखिएप्छि थप सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ । बागलुङलाई नेपाल सरकारले तीव्र गतिमा कोरोना संक्रमण फैलिएको भन्दै अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा निषेधाज्ञा जारी गरिएको छ भने अधिकांश स्थानीय तहले शैक्षिक संस्था बन्द गरेका छन् ।