बागलुङ - बागलुङमा एकैदिन ७१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका १७० जनाको नमुना परीक्षण गरिएकोमा ७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। पर्वतका १३ जनाको परीक्षणमा ५ जना र मनाङका ९ जनाको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ।
यता स्याङ्गजा जिल्लाका ३२ जनाको परीक्षण गर्दा १४ जना, तनहुँका २१ जनाको परीक्षण गर्दा २ जना, गोरखाका ४४ जनाको परीक्षण गर्दा २१ जना, लमजुङका १५ जनाको परीक्षण गर्दा २ जना र नवलपुरका ९४ जनाको परीक्षण गर्दा ३९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी जारी विज्ञप्तिमा जनाइएको छ।
बाग्लुङमा पनि वैशाख २१ गते मंगलबार देखि पूर्ण लकडाउन हुने भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
लकडाउनमा औषधिलगायतका पसल खुले पनि तरकारी तथा फलफूल, खाद्यान्न,अन्य बजार पसल बिहान १० बजेपछी बन्द हुनेछन्। यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने लकडाउन सम्बन्धी आदेशमा उल्लेख छ।
मंगलबारदेखि लागू हुने गरी जारी भएको लकडाउनमा ३१ गतेसम्म हुने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २०४३ पुगेको छ। जसमा १५६ जना अस्पतालमा उपचाररत छन् भने १ हजार ८८७ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए।
गण्डकी प्रदेशमा हालसम्म २३२ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्।
