आश तमु ,तनहुँ - तनहुँमा पनि भोलि बुधबारदेखि निषेधाज्ञा जारी भएको छ । कोरोनाको दोस्रो भेरियन्टले थप महामारीको रुप लिइरहँदा देशभर एक पछि अर्को जिल्लाले लकडाउन गर्न थालेपछी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
यदपी जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा भने जारी मितिमा त्रुटी भएको छ। जसले गर्दा केही सर्वसाधारण अन्योलमा परेका छन । प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्दारा हस्ताक्षरीत विज्ञप्तीमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको २१ गते बसेको बैठक लेखिए पनि जारी मितीमा २१ गते हुनु पर्ने स्थानमा १२ हुन पुगेको छ । जिल्ला प्रशासन कार्यालयको वेवसाइटमा पनि यही त्रुटीपुर्ण बिज्ञप्ती नै राखिएको छ ।
मंगलवार मात्रै जिल्लामा २४ जनाको कोरोना परिक्षण गर्दा १६ जनामा पोजिटिभ आएको थियो ।भोलिदेखि जारी लकडाउन वैशाख ३१ गते रातिसम्म लागु हुनेछ । तनहुँको ऋषिङका वडा नम्बर एकमा मात्र निषेधाज्ञा लागु हुनेछ भने घिरिङका सबै वडा क्षेत्रमा निषेधाज्ञा हुनेछैन ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको केन्द्रको बैठकले भोलि मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।
अत्यावश्यक वस्तुको खरिदका लागि भने समय दिने गरी निषेधाज्ञा आदेश जारी भएको छ । अत्यावश्यक सामग्रीको खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

