आश तमु , लमजुङ - खेल्दा खेल्दै साथीको आमाको एना खस्न गई फुट्न जादाँ लमजुङमा एक ७ बर्षीय नाबालकले ज्यान नै गुमाउनु परेको छ । घटना हो लमजुङको दूधपोखरी गाउँपालिका ३, फुलिङगिरीमा । गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढदै गरेका ७ बर्षीय बालक युकेश गुरुङ चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमा ४८ वर्षीय फूलमाया विकले प्रयोग गर्ने ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए ।
त्यसपछि बेपत्ता युकेशलाई स्थानीयले वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारे ।
खोल्सामा मृत अवस्थामा फेला परेको सूचनापाए लगतै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा सहितको अनुसन्धान टोली घटनास्थलमा गई प्रारम्भिक अनुसन्धान गर्दा गुरुङको घाँटीमा केही चिजबस्तुले प्रहार गरी हत्या गरेको खुलेपछि शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखराबाट पोष्टमार्टमका लागि पठाएको थियो ।
प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा अनुसार मृतकका आफन्त, परिवारलगायत मृतक जान सक्ने सम्भावित ठाउँका मानिसमाथि सूक्ष्म अनुसन्धान थालिएको थियो । सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएका थिए । प्रमाण नहुँदा प्रहरीले पक्राउ गर्न सकेको थिएन । फूलमायाले होइन भन्दै छोरालाई चुप लाग्न भनेकी थिइन् ।
घटनामा सम्बन्धमा मृतकका आफन्त, घर परिवार लगायत मृतक जान सक्ने सम्भावित ठाउँका मानिसउपर सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा युकेश गुरुङलाई हत्या गर्ने कार्यमा संलग्न सोही ठाउँ बस्ने मृतककै छिमेकी ४८ बर्षिय फुलमाया कामी रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएपछि उनलाई बैशाख १२ गते घरबाटै पक्राउ गरिएको थियो । कानुनी कारबाहीका लागि लमजुङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई घटनाबारे विस्तृत अध्ययन गरी बयान तयार पारिएको प्रहरीले जनाएको छ ।