विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा दुई जना दम्पतीको मृत्यु भएको छ । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचाररत ६९ वर्षीय पुरुष र ६४ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
चार महिना जन्मथलो ताप्लेजुङ घुम्न आएका दम्पतीको लकडाउन भएपछी मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफन्तको घरमा रोकिएका थिए । उनीहरु लामो समय देखि भारतको मुम्बईमा बस्दै आएका थिए । पथरीमा बस्दा नै उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
वृद्ध पुरुषलाई वैशाख २० र उनकी श्रीमतीलाई वैशाख २३ गते उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । नोबेलमा श्रीमतीको गएराति १ बजे र श्रीमानको आइतबार बिहान ११ बजे मृत्यु भएको हो । श्रीमतीको मृत्यु भएको १० घण्टामा श्रीमानको मृत्यु भएको हो ।
मृतक दुवैमा दमको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । मृतक पुरुष भारतीय सेनाबाट अवकाशप्राप्त हुन् । भारतीय सेनाबाट अवकाश पाइसकेपछि उनी परिवारसहित भारतको मुम्बईमा बस्दै आएका थिए ।