नवलपरासी । सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । आज बिहान नवलपरासी (पश्चिम) को दक्षिणी सिमानामा गोली प्रहारबाट प्रतापपुर गाउँपालिका कठहवाका २३ वर्षका युवक अविनाश राजभर घाइते भएका थिए ।
उनलाई उपचारका क्रममा बुटवल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा उनीहरुले गस्तीमा खटिएका सशस्त्रका सईमाथि चिरपट प्रहार गरेका थिए ।
५०/६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दावी छ । त्यसपछि स्थानीय र सशस्त्रबीच झडप भएको थियो । झडपमा सईसहित ११ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
कोभिड १९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए । भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रुग्यास प्रहार गरेको भए पनि भीड अनियन्त्रित भएपछि बाध्य भएर एक राउन्ड गोली चलाएको हो अधिकारीले भने, भीडले आक्रमण गर्दा एकजना सई शंकर बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ ।
स्थिति नियन्त्रणमा लिन सशस्त्रले दुई राउण्ड हवाई फायर समेत गरेको थियो । घटनाको छानबिनका लागि समिति बनाउने तयारी भएको बताइएको छ । गृहका अधिकारीको नेतृत्वमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहितको छानबिन समिति गठन गर्न लागिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।