लमजुङ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर हिजो देखि अहिले सम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म अब परकम्प बिस्तारै कम हुँदै जाने अनुमान गरिएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछिको १२ घण्टामा ५६ वटा परकम्प गएको थियो । कोइरालाका अनुसार चार रेक्टर स्केलको ६ वटाभन्दा धेरै परकम्प गएको छ भने अरु परकम्प चार रेक्टर स्केलको भन्दा साना रहेका छन ।

भूकम्पले घर भत्किँदा थिचिएर लम्जुङमा ६ र कास्कीमा एक गरि सातजना घाइते भएको प्रहरीले बताएको छ । भूकम्पबाट लम्जुङमा मात्र झन्डै एकसय घरमा क्षति पुगेको छ । क्षति भएका घरको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।
गण्डकी प्रदेशका प्रहरी प्रवक्ता एसपी बिनोद सिलवालका अनुसार लमजुङको वेसिशहर नगरपालिका १ मा एकजना वडा नं. ८ मा दुईजना, मस्र्याङदी गाउँपालिका ५ मा एकजना, वडा नं. ६ मा एकजना र दोर्दी गाउँपालिका ७ मा एकजना गरी ६ जना घाइते भएका छन् । त्यस्तै कास्कीको रुपा गाउँपालिका ३ मा पनि एकजना घाईते भएका छन । भूकम्प आएको बेला भाग्ने क्रममा उनलाई चोट लागेको हो ।
डिएसपी थापाका अनुसार लम्जुङ सदरमुकाम बेशीसहर सहित आसपासका सबैजसो स्थानीय तहका घरमा क्षति पुगेको छ । गाउँगाउँमा घर भत्केका छन् । मानवीय क्षति भने हुन पाएन, उनले भने । थापाका अनुसार क्षति पुगेका मध्ये अधिकांश घरको आधाजसो गाह्रो भत्केर बस्नै नहुने भएका छन् । धेरै घरको भित्ता चर्केको छ । वर्षा लागे झै यहीबेला पानी परिरहेको छ । कोरोनाको त्रास पनि उत्तिकै छ, थापाले भने, यही बेलामा भूकम्प जाँदा झनै बढी अप्ठेरो पारेको छ ।
उनका अनुसार भूकम्पले भत्किएका घरका बासिन्दालाई बसोबासका लागि टेन्ट वितरण गरिएको छ । बुधबार मात्र ३५ घरका बासिन्दाका लागि रेडक्रसमार्फत टेन्ट पनि वितरण गरिसकेको डिएसपी थापाले जानकारी दिए । अपुग घरका बासिन्दाका लागि विहीबार पनि पोखराबाट टेन्ट मगाएर उपलब्ध गराउने उनले बताए ।