Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जा फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने

स्याङ्जा फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १२, २०७८ बुधवार • १५:४६:०३ बजे
  • 1.2K
    SHARES
  • स्याङ्जा फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने

    स्याङ्जा। फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ। कोभिड १९ को दोस्रो संक्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा संक्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

    images

    गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट अभावमा उपचारमा समस्या नहोस् भनेर अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर १५ हजार रुपैयाँसम्म दिने निर्णय भएको बताए। अध्यक्ष सुवेदीले भने, कोरोना पोजेटिभ देखिए पनि आर्थिक अभावमा अस्पताल नगएर घरमै थलिएर बसेको अवस्थामा पालिकाले दिने उपचार खर्चले सहयोग पुग्छ र यसले संक्रमणलाई लुकाउने कार्यमा कमी आउँछ। बिरामीले अस्पतालमा स्वास्थ्योपचार गराएको कागजपत्रका आधारमा गाउँपालिकाको कार्यालयमा उपचार खर्च गरेको अवस्थामा रकम उपलब्ध गराउने अध्यक्ष सुवेदीले बताए।

    गाउँपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी बरालले गाउँपालिकाभित्र ४९ जना संक्रमित रहेको र जसमध्ये नौजना संक्रमण निको भएर घर फर्किएको र एकजना संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए। गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यअनुसार पालिकाभित्र दुईवटा एम्बुलेन्स सञ्चालनमा ल्याएको र कोरोना संक्रमित बिरामी र सुत्केरीको उपचारका लागि छुट्टाछुट्टै एम्बुलन्सद्वारा निःशुल्क सेवासमेत दिँदै आएको प्रशासकीय प्रमुख बरालले बताए।

    गाउँपालिकाले २० शय्याको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको र कोरोना संक्रमितलाई संक्रमितको घरघरमै पुगेर औषधिसमेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ।

    जिल्लामा यो समाचार तयार पार्दासम्म कुल एक हजार ८४२ जना संक्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन्। मृत्यु हुनेको संख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिए।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा एक हजार ३४३ छन् भने क्वारेन्टिनमा ३६ जना छन्। जिल्लामा २९७ आइसोलेसन शय्या र २४९ अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology